सुनाखरी न्युज/ काठमाडौं –
५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने फाइजर खोप (बायोएन्टेकको पेडियाट्रिक) नेपाल आइपुगेको छ। अमेरिकी सहयोगमा आइतबार बिहान २२ लाख ३ हजार २ सय मात्रा फाइजर खोप नेपाल आइपुगेको हो।
सरकारले पहिलो चरणमा २७ जिल्लामा अभियान संचालन गर्ने भएको छ। पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० जनालाई असार ९ देखि १५ गते सम्म दिइने भएको छ। त्यस्तै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा २ साउन देखि ८ सम्म लगाउने कार्यतालिका बनाइएको छ। अधिकारीहरुका अनुसार बाँकी रहेका ५० जिल्लामा पहिलो चरण भाद्र ५ देखि ११ सम्म संचालन हुने छ।
त्यस्तै दोस्रो चरण भाद्र २७ देखि असोज १ गते सम्म संचालन हुने बताईएको छ। पहिलो चरणमा झापा, मोरङ्, सुनसरी,सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ्, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिल्वस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र डडेल्धुरामा खोप कार्यक्रम संचालन हुनेछ।