२०८१ पुष २२ , सोमवार

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा प्रहरी अधिकृतहरुलाई निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कार्य विभाग तथा दुवै विभाग मातहत कार्यालयका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार निर्देशन दिनुभएको छ ।

 

प्रहरी महानिरीक्षक सिंहले प्रत्येक विभागका पूर्व योजनाहरुलाई निरन्तरता दिँदै भावी योजनाको प्रभावकारी कार्यान्वयनका लागि आपसी समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रहरीले सम्पादन गर्ने काम कारवाहीमा देखा परेका समस्या र चुनौतीहरुलाई तत्काल पहिचान गरी सम्बन्धित विभागहरुले त्यसको समाधानतर्फ ध्यान केन्द्रित गर्न उहाँले निर्देशन दिनुभयो । साथै उहाँले विभागले प्रस्तुत गरेका कार्य योजनाहरुलाई सफल बनाउन सम्बन्धित विभाग आफै जिम्मेवार भएर काम गर्नुपर्ने र ती योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वयका लागि आफू तयार रहेको उल्लेख गर्नुभयो ।

 

उक्त अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी उपरीक्षक अनुपम शम्शेर जबरा र अपराध अनुसन्धान विभागका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले सम्बन्धित विभाग तथा मातहत कार्यालयहरुको उद्देश्य, काम, कर्तव्य, वर्तमान समस्या र चुनौती, प्रगति विवरण तथा उपलब्धिहरु, भावी योजना, रणनीति लगायत विभिन्न काम कारवाहीको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी लगायत दुवै विभागका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।