२०८१ आश्विन ६ , आइतवार

पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, यी लक्षण देखिए अस्पताल जानुहोस्

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो छ । विशेष गरी ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ ।

तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले पछिल्लो समय पुरुषहरुमा समेत ब्रेस्ट क्यान्सरको समस्या देखिन थालेको उल्लेख गर्दै सचेत हुन आग्रह गरेकी छिन् । ‘विशेष गरी ६० देखि ६५ वर्ष र त्यसभन्दा माथि उमेरसमूहका पुरुषहरुमा ब्रेस्ट क्यान्सरको समस्या देखिने गरेको छ ।’ उनले भनिन्–‘पछिल्लो समय १०० ब्रेस्ट क्यान्सरबाट पीडित महिला भेटिँदा १ जना सोही समस्याबाट पीडित पुरुष बिरामी समेत भेटिन थालेको छ ।’डा. कार्कीका अनुसार पुरुषहरुको स्तन छेउछाउ सानोतिनो घाउ आउँदा, निप्पलबाट पानीमिश्रित रगत वा पिप बग्न थाल्दा, रातो रातो गिर्खा निस्किँदा पुरुषहरुले सचेत हुनुपर्छ । ब्रेस्ट क्यान्सरबाट पीडित पुरुषहरुको निप्पल पनि महिलाको जस्तै भित्रतिर तानिन थाल्छ । गाँठागुठी आउँदा दुख्दैन ।

 

‘धेरैजसो पुरुषहरु स्तन वरपर बिबिराजस्तो आयो, रातो भयो भने छालाको एलर्जी भनेर छालारोग विशेषज्ञसम्म पुगिरहनुभएको हुन्छ । तर त्यस्तो लक्षण क्यान्सरको पनि हुनसक्छ ।’ डा. कार्कीले थपिन्–‘स्तन वरपर हुने इन्फेक्सनलाई साधारण ठानेर बस्नु भएन । क्यान्सर विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।’ कतिपय पुरुषहरुमा स्तन छेउछाउ काखीतिर, घाँटीको भाग र केही तल गाँठागुठी आयो र त्यो बढ्दै गयो भने त्यसलाई समेत ब्रेस्ट क्यान्सरको लक्षण मान्न सकिन्छ । डा. कार्कीकाअनुसार धेरै मोटो व्यक्ति, जंकफूड बढी मन पराउने, अनहेल्दी फूड प्रयोगमा जोड दिने, धुम्रपान गर्ने, बढी मदिरा सेवन गर्ने पुरुषहरुमा ब्रेस्ट क्यान्सर हुनसक्छ । तसर्थ, यस्ता फूडहरुबाट टाढै बसी स्वस्थकर जीवनशैली र खानपान अपनाउनुपर्छ ।

डा. कार्कीले महिलाहरुमा हुने स्तन क्यान्सरभन्दा पुरुषमा हुने स्तनक्यान्सर छिटो शरीरका अन्य अंगतिर फैलिनसक्ने जोखिम रहेको बताइन् । ‘केटी मान्छेको स्तनको भाग ठूलो र धेरै हुन्छ । तर केटाको सानो हुन्छ ।’ उनले भनिन्–‘त्यसले गर्दा केटा मान्छेमा ब्रेस्ट क्यान्सर भयो भने छातितर्फ चाँडै फैलिने जोखिम हुन्छ । त्यसकारण बेलैमा देखाइएन भने अवस्था निकै नै गम्भीर भइसकेकेको हुनसक्छ ।’उनले मिल्दोजुल्दो कुनै पनि लक्षण देखियो भने साधारण गिर्खा, गाँठो वा इन्फेक्सन हो भनेर नबस्न समेत पुरुषहरुलाई आह्वान गरेकी छिन् ।