२०८१ आश्विन १२ , शनिवार

अन्य कम्पनीको ट्रेडमार्क चोरी नक्कली जारको पानी बिक्री गर्ने २ पक्राउ

सुनाखरी न्युज/ काठमाडौं –

कम्पनी नै नभएकोहरुले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

 

प्रहरी वृत्त कालिमाटीले कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भइ काठमाडौंको कलंकी बस्ने २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगर नगरपालिका–१३ घर भइ कालिमाटी बस्ने २६ वर्षीय किरण श्रेष्ठलाई पक्राउ गरेको हो।

 

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको छ । यसरी अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरोके छ ।

 

थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको एसपी मैनालीले बताए । उनीहरुले बिक्री गरेको पानी समेत गुणस्तरहीन हुनसक्ने भन्दै यसको जाँच समेत गर्नुपर्ने प्रहरीले जनाएको छ।