तारा वस्नेत – योगको उपस्थितिबारे ऐतिहासिक प्रमाण पूर्व वैदिक काल (२७०० ईसापूर्व) मा देखिएको छ । त्यसपछि पतञ्जलिको अवधिसम्म योग र अभ्यास सम्बन्धी प्रमाणहरू विभिन्न स्रोतहरुमा पाइन्छ । यी स्रोतहरु जस्तै वेद, उपनिषद्, महाकाव्य, पुराण आदि योगको बारेमा उल्लेख गर्ने स्रोतहरु हुन् ।
मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ। वस्तु तथा जीव सबैको सकारात्मक पक्ष र नकारात्मक पक्ष हुन्छन । जसलाइ पतञ्जलीले क्रमशः शुक्लपक्ष र कृष्णपक्ष भनेको छन । एउटा अस्तित्वमा दुई पाटा हुनु प्राकृतिक कुरा हो । जुन कुराले नकारात्मक पाटोलाई घटाउँदै सकारात्मक पाटोलाइ बढाउँदै सकारात्मकताको शिखरमा पुग्न अवलम्बन गरिने व्यवहारीक साधना नै योग हो ।
शिवलाई योगका आदि गुरु मान्ने गरिएको छ । हजारौं वर्षपहिले हिमालयमा कान्ति शरोबरको तटमा आदि योगीहरूले आफ्नो प्रबुद्ध ज्ञान प्रसिद्ध सप्तऋषिहरुलाई प्रदान गरे । सप्तऋषिहरुले यस ज्ञानलाई एसिया, मध्यपूर्व, उत्तरी अफ्रिका हुँदै दक्षिण अमेरिकासम्म योगलाई फैलाए भन्ने देख्न सकिन्छ । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।
योगलाई निकै सूक्ष्म तरिकाले ध्यानपूर्वक गरिनुपर्छ, जथाभावी बल प्रयोग गरेर जबर्जस्ती मांसपेशीमा गाँठागुँठी बनाउनको लागि होइन, किनकि यो कुनै व्यायाम होइन । हाम्रो भौतिक शरीरमा पूरै यादहरू वा स्मृतिको संरचना हुन्छ । यदि तपाईं यो भौतिक शरीरलाई पढ्न, बुझ्नको लागि इच्छुक र तत्पर हुने हो भने, सबैथोक जान्नुहुनेछ— किनकि, यो पूरै ब्रह्माण्ड शून्यताबाट अहिलेको अवस्थामा कसरी आइपुग्यो भन्ने कुरा यही शरीरमा लेखिएको हुन्छ । योग यस्तो प्रक्रिया हो, जसले ती सम्पूर्ण स्मरणहरू खोल्दछ, अनि यो जीवनलाई यसको चरम सम्भावनातर्फ डोहोऱ्याउँछ । वास्तवमा, योग अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो ।
योगले मानिसको जिवनसैलि परिवर्तन गर्छ जस्तो कि ! वर्तमान समयमा बदलिदो जीवनशैली, खानपान, तनाव, कुलत का कारण विभिन्न नसर्ने रोगको विगविगि बढेको छ । हामीले जीवनशैली परिर्वतन गर्ने क्रममा प्रमुख रुपमा यी कुराहरु नगर्ने भन्छौ जुन डरमा आधारित छ । जस्तो कि चुरोट पियो भने क्यान्सर हुन्छ, तनाव लियो, मद्यपान गर्यो भने उच्चरत्तचाप हुन्छ । यो डर देखाई जीवनशैलीमा नियन्त्रण गर्ने विधि हो । त्यसैले जीवनशैली परिवर्तनको यो आधार मान्छेहरुलाई थाहा हुदाहुदै पनि दीर्घकालीन र उपयोगी छैन । तर योगमा आधारित जीवनशैली परिर्वतनबाट मानिसमा खुशी र आनन्द आउने हुनाले जीवनशैली परिवर्तन सहज र दीर्घकालीन हुन्छ ।
रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन्। संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ।