२०८१ आश्विन १२ , शनिवार

कञ्चनपुरको महेन्द्रनगरमा अलकत्रा बोकेको ट्यांकरमा आगलागी

सुनाखरी न्युज/ कञ्चनपुर-

कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ।

 

गएराति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा एक्कासी आगलागी हुँदा ट्यांकर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

 

ना४ख ७८८८ नम्बरको उक्त ट्यांकर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिए। उक्त घटनामा ट्यांकरको पछाडि रहेका सहचालक निर्बल चौधरी (थारू) घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दमकलको सहायताले आगो निभाइएकाले थप क्षति भने हुन पाएन। समयमै ट्यांकरमा लागेको आगो दमकलको सहायताले निभाउँदा ठूलो क्षति हुनबाट जोगिएको छ। नजिकैका घरहरू आगलागी हुनबाट जोगिएका छन्। रासस