२०८१ आश्विन १२ , शनिवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर,फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको माग

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नेपाल आयल निगमद्वारा गरिएको पेट्रोल, डिजेल, मट्टितेलको मुल्य वृद्धि गर्नु अत्यन्त अव्यवहारिक र जनतामारा कदम भएको बताएको छ ।

 

आइतबार रातिदेखि लागु हुनेगरी सरकारले इन्धनमा भारी मूल्य वृद्धि गरेपछि सोमबार सङ्गठनका अध्यक्ष राजु लोहनीले विज्ञप्ति जारी गर्दै सरकारको कदमप्रति आपत्ति जनाएको हो । पेट्रोलियम पदार्थको मूल्य बढाउँदा अन्य सामाग्रीको पनि मूल्य बढ्ने भएकाले जनतालको जीवन कष्टकर बन्ने भएकाले सरकारले इन्धनको मूल्यवृद्धि फिर्ता लिनुपर्ने सङ्गठनको माग छ । सरकार गरिब जनतालाई दु:ख दिने र जनजीवन पिडादायी बनाउन उद्यत भएको विज्ञप्तिमा उल्लेख छ ।

 

‘बारम्बारको इन्धनको मूल्यवृद्धिले अन्य सामाग्रीको पनि मूल्यवृद्धि भइरहेको हुँदा नागरिकको जनजीवन कष्टकर र पीडादायी भइरहेको र गरिब जनता ठुलो मारमा परेका छन् । जनताको नाममा शासन गर्ने र गरिब जनतालाई चर्को मूल्यवृद्धिको मारमा परेर जीवन चलाउन नसक्ने बनाउने सरकारको यस्तो कार्यको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन घोर भर्त्सना गर्दछ ।’ सङ्गठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सङ्गठन जनताको दैनिक जीवनमा नै ठुलो असर पर्ने यस्तो मूल्यवृद्धि तुरुन्त फिर्ता लिन सरकारसंग जोडदार माग गर्दछ ।’

 

सरकारले पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ, डिजेल र मट्टितेलमा २७ रूपैयाँ बढाएकाे छ । इन्धनकाे मूल्य बढेसँगै सार्वजनिक यातायात र हवाइ भाडा समेत बढेकाे छ ।