२०८१ आश्विन १२ , शनिवार

नक्कली लाइसेन्स बनाएको अभियोगमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

सुनाखरी न्युज/ काठमाडौं –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ ।

 

अख्तियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका दुईजना तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरूमध्ये १२ जना यातायात कार्यालयमै कार्यरत कर्मचारी र पाँच जना बिचौलिया हुन् ।

 

उनीहरुले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको गरी सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ ।

 

यातायातका कार्यालयका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठ विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।