२०८१ आश्विन १२ , शनिवार

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

सुनाखरी न्युज/ नवलपरासी-

नवलपरासी– (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिइने भएको छ।

 

गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो। नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

 

बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैंडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए। त्यस्तै नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। विशेषगरी गैंडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एकहप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने उनले बताए।

 

उपप्रमुख कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सुत्केरी आमाः पोषिलो खाना’ कार्यक्रमलाई प्रभावकारी बनाउनाका साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तरप्रसूति सेवा प्रदान गरिने बताइएको छ। गर्भवतीको सुविधाको लागि नगरपालिकाको वडा नं ३ र १८ स्थित नगर अस्पतालमा आमा घर सञ्चालन गरी सेवा दिइने उल्लेख गरिएको छ।

 

सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, हरेक घरमा खानेपानीका धारा, जनस्वास्थ्यमा लगानी भन्ने नीति लिइएको छ। उनले नेपाल सरकारको सबै जनतालाई निःशुल्क खोप लगाउने कार्यक्रम राखेकाले सबै प्रकारका खोप कार्यक्रमलाई नगरले प्राथमिकताका साथ अगाडि बढाउँदै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्ने बताइन्। रासस