सुनाखरी न्युज/ ताप्लेजुङ –
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ ।
यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए ।
गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिइन् । उनले भनिन्, “एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक रु २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।”
सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए । पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फार्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अति विपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुर्याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । रासस