२०८१ पुष २४ , बुधवार

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका घिसिङ पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा दोषी ठहर भई फरार रहेका रामेछापका ४३ वर्षीय विनोद घिसिङ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

 

उनीविरुद्ध परेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत पुस २७ गते एक करोड दुई लाख पचास हजार रुपैयाँ जरिवानासहित २१ दिन कैदको सजाय तोकेको थियो । फरार रहेका घिसिङलाई अदालतको फैसलाबमोजिम पक्राउ गरी फैसला कार्यान्वयनका लागि मंगलबारै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

 

रामेछापको सुनप‍ति गाउँपालिका स्थायी घर भई हाल जोरपाटी बस्दै आएका घिसिङले मेगा बैंक लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खातामा नगद मौज्दात नभएको जानी-जानी विभिन्न व्यक्तिहरुलाई चेक दिएर झुक्याएका थिए । उनीविरुद्ध तीन जनाले जाहेरी दिएका थिए । अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा कैद र सजाय गरेको हो ।