सुनाखरी न्युज/ काठमाडौं –
युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा एक बालकसहित कम्तीमा १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । राज्यको आपतकालीन सेवा डीएसएनएसले सेरहियिभका गाउँको नौ तले भवनमा एउटा मिसाइल प्रहार गर्दा १६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ ।
गाउँको मनोरञ्जन केन्द्रमा गरिएको छुट्टै आक्रमणमा बालकसहित थप दुई जनाको मृत्यु भएको छ । रुसले विगत केही दिनमा युक्रेनी शहरहरूमा दर्जनौं मिसाइलहरू प्रहार गरेको छ । डीएसएनएसले नौ तले भवनको भग्नावशेषमा अग्निनियन्त्रकहरूले बाँचेका हुनसक्ने मनिसको खोजी गरिरहेको फुटेज जारी गरेको छ । एक भिडियोमा एकजनाको शव झोलामा बोकेको पनि देखिएका छन् ।
ओडेसा क्षेत्रीय प्रशासनका प्रवक्ता सेर्ही ब्राचुकले कृष्ण सागरमाथिबाट रुसी लडाकु विमानले मिसाइल प्रहार गरेको बताए । उनले रातभर गरिएको हमलामा सोभियतकालीन एक्स–२२ मिसाइलहरू प्रयोग भएको विश्वास गरिएको बताए । मस्कोले आक्रमणबारे अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन । –बीबीसी