२०८१ मंसिर ९ , आइतवार

निजगढमा दुइटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउनेगरी कायमगर्न प्रधानमन्त्री देउवाको निर्देशन

सुुनाखरी न्युज/ बारा ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुगेका उनले शनिबार  सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका हुन् ।

 

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिए । उनले विमानस्थल बनाउन अदालतबाट पनि बाटो खुलेको उनले बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गरिनुपर्ने बताए । निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । आयोजना निर्माणमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत विभिन्न विभागीय मन्त्रीहरू पनि निजगढ पुगेका हुन् ।

 

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।

भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेका थिए । शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गरेका थिए ।