२०८१ आश्विन ६ , आइतवार

पेचिलो बन्दै मुख्यमन्त्री हेरफेरको विषय, शीर्ष नेताहरूको बैठकले निर्णय लिनुपर्ने एकीकृत समाजवादीको माग

सुनाखरी न्युज/ काठमाडौं ।

बागमती प्रदेशको मुख्यमन्त्री हेरफेर गर्ने निर्णय सत्ता गठबन्धनको बैठक बसेर मात्रै टुंगो लगाउनुपर्ने माग नेकपा एकीकृत समाजवादीले अगाडि सारेको छ । काठमाडौंमा शनिबार  बसेको पार्टीको बागमती प्रदेशको संसदीय दलको बैठकले सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल गरेरमात्रै टुंगो लगाइने पार्टीका प्रचार प्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टी बैठकपछि उनले पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्।

पछिल्लो समय गठबन्धन दलका सांसदहरूले बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे फेरिनु पर्ने भन्दै विरोध गर्दै आएका थिए।

यस्तै बागमती मात्रै नभएर अरू प्रदेशका पनि मन्त्रालयहरू बाँडफाँड गर्ने गरी शीर्ष तहमा पुगेर छलफल गर्नुपर्ने निर्णय भएको खतिवडाले बताए।