२०८१ आश्विन १२ , शनिवार

पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना पक्राउ

सुनाखरी न्युज/ हुम्ला –

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोजेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरूले लुटपाट गर्न खोजेका थिए।

 

नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन्। प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो।

 

उनीहरूको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए। सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ। इक्मा पूर्वको कञ्चनजंगा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहेका थिए। उजुरी दिएपछि उनलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

रासस