२०८१ आश्विन १२ , शनिवार

प्रदेश १ सरकारले आगामी आ.व २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित

सुनाखरी न्युज/ काठमाडौं –

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो ।

 

प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए ।

 

सांसद न्यौपानेले राखेको प्रस्ताव अस्वीकृत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राखेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले नै पारित भएको हो । यसपटकको बजेटमार्फत् प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ।

 

उत्पादनमा आधारित अनुदान सोझै किसानलाई दिने कार्यक्रम अघि सारेको सरकारले आगामी आर्थिक वर्षदेखि दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको छ।