२०८१ मंसिर १२ , बुधवार

एक सातामै बैंकहरुमा थपियो ३४ अर्ब निक्षेप

सुनाखरी न्युज/ काठमाडौं । गत साता मात्रै वाणिज्य बैंकहरुमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला साताहरुको तुलनामा गत साता निक्षेप उच्च दरले बढेको हो । यद्यपि कर्जा भने गत साता दुई अर्बले मात्रै विस्तार भएको छ ।

 

आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च केही बढेको छ । सरकारी खर्च बढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढेको हो । तर, आर्थिक वर्षको अन्त्यमा बैंकहरुले कर्जा असुलीमा ध्यान दिने भएकाले उक्त अवधिमा कर्जा विस्तार न्यून देखिएको बैंकरहरुले बताएका छन् । राष्ट्र बैंकका अनुसार अघिल्लो शुक्रबार (असार १० मा) ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप १७ गतेसम्म आइपुग्दा बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

 

त्यस्तै सो एक साताको अवधिमा कर्जा ४१ खर्ब ८२ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । यसले बैंकहरुलाई रकम व्यवस्थापनका लागि केही सहज भएको छ । गत चैतदेखि नै वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह घटेको छ ।