२०८१ पुष २५ , बिहिवार

संखुवासभा सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन र १ जनालाई २५ बर्ष कारावासको फैसला

सुनाखरी न्युज/ संखुवासभा । जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ४ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । साथै सोही घटनामा संलग्न एक जनालाई २५ वर्षको अर्थात दुई तिहाई मात्र कारावासको फैसला सुनाइएको छ ।

 

जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ५ जना मध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो । गत २०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका-१, उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ५ जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिनुभयो ।

 

श्रेस्तेदार गौतमका अनुसार हत्यामा संम्लग्न मादी -१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की र ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवासको फैसला भएको हो । यसैगरी, १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाइएको छ । हत्यामा संम्लग्न भएका १७ बर्षीय नरेशलाई बाल सुधार गृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो । जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा ४ जनाले दुई-दुई लाख रुपैयाँ क्षतिपुर्ति र पीडित राहत कोषमा २८ सय रुपैयाँ रकम समेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत संखुवासभाले जनाएको छ ।

 

उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन् । जिल्ला प्रहरी संखुवासभाले पनि ४ जना विरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो । गत २०७८ भदौ २१ गते उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।