२०८१ आश्विन १२ , शनिवार

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित सडकमा बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार जडिबुटी बस्ने रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुली, सुनकोसी गाउँपालिका-६ सितलपाटीस्थित सडकमा बागमती प्रदेश-०१-०२५ च १९५३ नम्बरको पिकअप आफैँ अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा पकअप चालक सिरहा बिसनपुरकट्टी बस्ने २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको छ ।

 

साथै दुर्घटनामा पिकअपका सहचालक सामान्य घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।