२०८१ आश्विन १२ , शनिवार

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई बालिका बेपत्ता

सुनाखरी न्युज/ काठमाडौं –

उदयपुर– स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका बेपत्ता भएका हुन्।

 

त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन्। राईका अनुसार बुधबार दिउँसो पौने २ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्ता भएका हुन्।

 

घटनालगत्तै स्थानीयवासी र प्रहरीचौकी साउनेबाट गएका प्रहरीले समेत खोलाले बगाएको बालिकाको निरन्तर खोजी गरिरहेको तर फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरीचौकी साउनेको प्रहरी टोलीले घटनास्थलमा गएर खोजीकार्य जारी राखेको तर फेला पार्न नसकिएको बताए।

 

बेपत्ता बालिकाको खोजीका लागि बिहीबार बिहानैदेखि प्रहरी परिचालन गरिएको छ। रासस