२०८१ आश्विन १२ , शनिवार

आजदेखि उपत्यकामा चल्न थाले साझाका विद्युतीय बस

सुनाखरी न्युज/ काठमाडौं –

साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् ।

 

काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी टेस्ट पनि सम्पन्न भइसकेको छ । यस्तै बाँकी ३७ वटा बस पनि आगामी दिनमा डेलिभर हुनेछन् । साझाले प्रति बस डेढ करोड रुपैयाँमा ४० वटा ९ मिटर लामो यस किसिमका बसको लागि करिब ६१ करोड खर्चिँदै छ ।

 

यसपछि १२ मिटर लामो र अन्तरप्रदेश चल्ने विद्युतीय बस ल्याउने तयारी पनि भइरहेको साझाले जनाएको छ । आजदेखि सञ्चालनमा आएका यी बस बालबालिका एवं वृद्धवृद्धा र अपाङ्गलाई चढ्नको लागि सहज हुने तथा र्‍याम्पको सुविधाका साथै वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा पनि जडित छन् । यी बस २ वटा रुटमा चल्नेछन् ।

 

एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्ने साझाले जनाएको छ । यी विद्युतीय बस अपांगमैत्री छन् ।