२०८१ आश्विन १२ , शनिवार

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

सुनाखरी न्युज/ काठमाडौं । अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा प्रधानमन्त्री देउवालाई तोकेकी हुन् ।

 

‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीजयूको सिफारिसमा अर्थ मनत्रालयको कार्यभार प्रधानमन्त्री देउवाज्यूले समहाल्ने गरी तोक्नु भएको छ ।’

 

बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानबिन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् । साथै बजेट निर्माणका क्रममा मन्त्रालयभित्र अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।