२०८१ मंसिर ८ , शनिवार

सर्वसाधारणका लागि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

सुनाखरी न्युज/ काठमाडौं –

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

 

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर वितरण गर्न लागेको हो । निष्काशन गरिने कुल कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी १३ लाख ९५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।

 

यो आईपीओ छिटोमा असार २८ गतेसम्म विक्री रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । तर पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओमा परेको आवेदनको प्रबृत्ति हेर्दा छिटो अवधिभित्रै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको छ । आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । खरीदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

कम्पनीले संखुवासभा जिल्लामा ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनाबाट २०७८ साल चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी नेपाल विद्युत प्राधिकरणको ३३ के.भि प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भैसकेको कम्पनीको भनाई छ । यस आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड २८ लाख ७२ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत भने रू. १६ करोड ७३ लाख ९६ हजार रहेको छ । संस्थापक तर्फ ६० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर जारी गरिसकेको छ भने कर्मचारी सहित सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गर्न लागेको हो ।