२०८१ आश्विन १२ , शनिवार

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

सुनाखरी न्युज/ काठमाडौं –

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ ।

 

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउनेक्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनाको अवधिमा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बिनी आएका कोषको सूचना शाखाले जनाएको छ । उक्त सङ्ख्या विगत वर्षभन्दा बढी हो । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

 

पछिल्लो एक महिनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ । कोभिड–१९ को त्रासका कारण पर्यटक आगमनमा कमी आएको लुम्बिनीमा भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटक आउने क्रम समेत बढेको छ ।प्रचारप्रसारका कारण संसारभरबाट पर्यटक लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् । लुम्बिनी आउने पर्यटकका लागि सरकारले विशेष सुविधा र सहयोग गर्नुपर्ने उनको भनाइ छ । लुम्बिनीमा आध्यात्मिकका साथै घुमन्ते पर्यटक आउने गर्दछन् ।

 

धार्मिक र आध्यात्मिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने घुमन्ते पर्यटक यहाँको सौन्दर्यतासँग रमाउन आउने गरेको पाइन्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमाक्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकले पर्यटन व्यवसायीहरुलाई समेत उत्साह दिएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । लामो समय कोभिड–१९ का कारण चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक, भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकको आगमनले रमाइलो बनाएको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायी मात्र नभएर यहाँका अन्य क्षेत्र पनि चलायमान भएका छन् । रासस