२०८१ मंसिर १४ , शुक्रवार

उपसभामुखको निर्वाचन शुक्रबार

सुनाखरी न्युज / काठमाडौं । प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते अर्थात् शुक्रबार हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिनुभयो ।

निर्वाचान शुक्रबार दिउँसो ३ बजे गर्ने गरी सभामुखले मिति र समय निर्धारण गर्नुभएको हो । साथै उहाँले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशित गर्न निर्देशन दिनुभएको छ । सचिव योगीले सोही नियमावलीको उपनियम १ बमोजिम निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ ।

 

असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्य तालिका छ । त्यस्तै, बिहीबारै दिउँसो साढे १ बजे निर्धारित सयमभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गर्ने निर्वाचन कार्य तालिका छ ।

 

शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्नुहुनेछ । साथै समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ ।