२०८१ मंसिर ११ , मंगलबार

माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

सुनाखरी न्युज/ काठमाडौं –

कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालीङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

 

कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्ने भएको हो । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ ।

 

विसं २०७८ असार २१ गते उद्घाटन भई गत साउनको दोस्रो सातादेखि नियमितरुपमा सञ्चालन रहेको उक्त आयोजनाले वर्षाकालमा मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउनसमेत सहयोग गरेको छ । सोही आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई एक बराबर एक कित्ताका दरले हकप्रद शेयर प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले यही असार ३० गते बसेको सञ्चालक समितिको २५७ औँ बैठकबाट हालको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागिएको जानकारी दिए ।

 

त्यससम्बन्धी जानकारी कम्पनीको आगामी १४ औँ वार्षिक साधारणसभामा स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय भएको उनको भनाइ थियो । कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज एवं सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा सनराइज क्यापिटल लिमिटेडलाई गराएको छ । कम्पनीको हाल चुक्ता पुँजी रु १० अर्ब ५९ करोड १०० बराबर छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको कूल चुक्ता पुँजी रु २१ अर्ब १८ करोड २०० बराबर पुग्नेछ । प्राकृतिक प्रकोप, विभिन्न अवरोधलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्न गयो ।

 

आयोजनाको सुरुआती लागत रु ३५ अर्ब २९ करोड हुने भनिएको थियो । त्यसमा ब्याज, अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत विषय समावेश गरिएको थिएन । आयोजना निर्माण सम्पन्न हुँदा रु ८८ अर्ब बराबरको खर्च भएको छ । कम्पनीको कूल लागत रु ५२ अर्ब बराबर पुगेको छ । त्यसमा ब्याज र अन्य थप खर्च थप जोड्दा रु ८८ अर्ब बराबर पुगेको हो ।

 

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुई÷दुई प्रतिशत शेयर रहेको छ । यस्तै सर्वसाधारणको १५ प्रतिशत दोलखा जिल्लावासीको १० प्रतिशत तथा २४ प्रतिशत शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ । रासस