२०८१ मंसिर १० , सोमवार

ह्वात्तै बढ्यो कोरोना संक्रमण, उपचारका लागि तयारी अवस्थामा रहन अस्पतालहरुलाई स्वास्थ्य सेवा विभागले दियो निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेको छ ।  असारयता वृद्धि हुँदै आएको कोभिडको दैनिक संक्रमण नरोकिने देखिएपछि अस्पतालहरूलाई उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्य सेवा विभागले निर्देशन दियो । असार १ यता शुक्रबारसम्म दैनिक संक्रमण दर १० गुणा र सक्रिय संक्रमितको संख्या १३.२३ गुणाले बढेको छ ।

 

असार १ मा देशभर ९७ जना सक्रिय संक्रमित र दैनिक संक्रमण दर ०.६४ थियो । ३० दिनपछि शुक्रबार कुल सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८४ र दैनिक संक्रमण दर ११।४६ प्रतिशत पुगेको छ । शुक्रबार २ सय २९ जना संक्रमित थपिएका छन् । बिहीबार २ सय ६० जनामा संक्रमण पुष्टि भएको थियो ।

‘कोभिडको केस अझ बढ्ने सम्भावना रहेकाले अस्पतालहरूलाई अलर्ट गरिएको छ र उपचार व्यवस्थापन गर्न तम्तयार रहन भनिएको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘पछिल्लो चार सातामा संक्रमणमा अप्रत्याशित वृद्धि देखियो ।’

विभिन्न नाकाबाट भारतबाट भित्रिनेहरूमा समेत व्यापक संक्रमण देखिएको छ । शुक्रबार विभिन्न नाकाबाट नेपाल प्रवेश गरेकामध्ये २५ जनामा संक्रमण पुष्टि भएको छ ।