२०८१ आश्विन १३ , आइतवार

फेवा वेगनास चौतारीको वृक्षारोपण कार्यक्रम

सुनाखरी न्युज/ पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकाको विमिरापानीमा आयोजना गरिएको कार्यक्रममा बडहर, राइखनियो, इपिललिपिल, कटहर, बेलपत्र, पारिजात, अमला, टिमुर, कुरिलो, निमपत्ता, बाँस, टाँकी लगायतका गरी झण्डै एक हजार थान विरुवा रोपिएको क्लबले जनाएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ जे नेपालका डिष्ट्रिक चिफ सन्तोष घिमिरेले स्थानिय रुद्रप्रसाद पौडेललाई विरुवा हस्तान्तरण गरेर शुभारम्भ भएको कार्यक्रममा बोल्दै घिमिरेले फेवा वेगनास चौतारी सामाजिक कार्यमा सक्रियता देखाउदै आएको बताए । वृक्षारोपण कार्यक्रम मार्फत कालिकाका स्थानियबासीसँग जोडिन पाएकोमा क्लबका संस्थापक अध्यक्ष समेत रहेका उनले खुशी व्यक्त गरे ।

 

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका पूर्व अध्यक्ष तथा डिष्ट्रिक को–चिफ जित बहादुर थापा गोपालले एकैपटक झण्डै एक हजार विरुवा संकलन गरेर स्थानियलाई समेत अपनत्व हुने गरी कार्यक्रम गरेकोमा प्रंशसा गरे । आफूले गर्ने सामाजिक कार्यक्रम मार्फत क्लबले डिष्ट्रिकमा बेग्लै पहिचान बनाउने विश्वास उनले गरे ।

 

क्लबका अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममाबोल्दै अध्यक्ष पौडेलले आफ्नै ठाउँमा केही गरौं भन्न सोचका साथ आफ्नो कार्यकालको पहिलो कार्यक्रममा जन्मठाउँमा गरेको बताए । आफ्नै ठाउँमा कार्यक्रम गर्दा विरुवाको रेखदेख गर्न सहजता हुने भनाई उनको थियो । आगामी दिनमा समेत विभिन्न सामाजिक कार्यक्रमका साथ गाउँमा उपस्थित हुने वाचा उनको थियो । कार्यक्रममा डिष्ट्रिक मेम्बर तथा क्लबका निवर्तमान अध्यक्ष महेश्वर रिमाल, क्लबका उपाध्यक्ष चित्रबहादुर गुरुङ, सचिव टिका बहादुर लम्साल, कोषाध्यक्ष महेश सुनार, स्थानिय सामाजिक व्यक्त्तित्व कृष्णप्रसाद पौडेल, सुरज पौडेलले बोलेका थिए ।

 

आफ्नै ठाउँमा आफूलाई आवश्यक पर्ने विरुवा प्राप्त गर्दै वृक्षारोपण गर्न पाएकोमा सहभागी स्थानियले खुशी व्यक्त गरे । रोपिएका फूल तथा डालेघाँसका विरुवालाई आवश्यक रेखदेख गर्ने स्थानियबासीकोे प्रतिवद्धता थियो । फेवा वेगनास चौतारीले विभिन्न सामाजिक कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिँदै समाजसँग जोडिने जनाएको छ ।