२०८१ आश्विन १३ , आइतवार

सांसदको प्रश्न: काठमाडौंवासीले कहिलेसम्म फोहोरसँग पौठेजोरी खेल्ने हो?

सुनाखरी न्युज/ काठमाडौं –

राष्ट्रियसभाका सांसदहरूले काठमाडौं उपत्यकाभित्र थुप्रिएको फोहोरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन्।

 

सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भनिन्, ‘काठमाडौंमा थ्रुप्रिएका फोहोरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडौंवासीले फोहोरसँगै पौठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने हो?’ फोहोरको वर्गीकरण गर्नसक्ने हेटौंडामा निर्माण गरिएको मेसिनको प्रयोग गर्न सकिने उनको सुझाव थियो।

 

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले संविधानले व्यवस्था गरेको समावेशीता लागू हुन नसकेको टिप्पणी गर्दै संघीयता कार्यान्वयनमा जोड दिइन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नागरिकतासम्बन्धी विधेयक ल्याउने विषयमा ढिला गर्न नहुने बताए। नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले जनताको विषयप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

 

उनले राजनीतिक दलका नेतालाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा पनि देशको निम्ति गम्भीरतापूर्वक सोच्न आग्रह गरिन्। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले ब्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण गराए। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा बढ्दै गएको महँगीको बारेमा सरकारले अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गरिन्।

 

नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले भने, ‘राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एम अधिकारी हो भन्ने चर्चा सुनिएको छ, यसबारे खोजी किन हुन सकिरहेको छैन, को हुन एम अधिकारी ?’ नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले दलहरूले महिलालाई आगामी निर्वाचनमा प्रत्यक्षतर्फ टिकट दिनुपर्ने माग गरिन्। रासस