२०८१ मंसिर १५ , शनिवार

पूर्वाधार निर्माणलाई गुणस्तरीय बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।

६० औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन् । उनले जनताको आवश्यकता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माण गर्न इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारहरूको विकास आवश्यक हुने भन्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरूले आफ्नो पेसालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गरेका थिए ।

‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यकतालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पना अनुसार विकास निर्माणको लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियरहरू नै हुन् । सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरूको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेसालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुनेगरी विकास गर्दै जानुपर्ने खाँचो छ । देशलाई समुन्नत र समृद्ध बनाउन पूर्वाधारहरूको विकासको आवश्यकता हुन्छ । त्यस्ता संरचना गुणस्तरीय तरिकाले निर्माण गर्नु आजको आवश्यकता हो,’ प्रधानमन्त्री देउवाले भने ।

 

यस क्रममा प्रधानमन्त्री देउवाले सबै सरोकारवालाहरूबीच समन्वय कायम गरी योजनावद्ध तरिकाले गुणस्तरीय विकास निर्माणको काम अगाडि बढाउन सफलता मिलोस् भनी शुभकामनासमेत व्यक्त गरेका थिए । साथै इन्जिनियरहरूलाई दक्ष बनाउन र उनीहरूको काममा आएका सबै समस्या समाधान गर्न सरकार तयार रहेको पनि उनको प्रतिवद्धता थियो । प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा इन्जिनियरहरूलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताएका थिए ।