२०८१ मंसिर १० , सोमवार

भन्सार छलेर ल्याएको एक करोड बराबरका सामाग्रीसहित एक व्यक्ति पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको चाबहिलबाट राजस्व छलेर अवैध रूपमा भारतबाट नेपाल आयात गरिएका एक करोड रुपैयाँबराबरका सामाग्रीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतबाट ल्याइएको चुरोट, गुट्खा लगायतका सुर्तीजन्य बस्तुहरु, मोटरसाइकलका पार्टसहरु, इलेक्ट्रोनिक्स चिप्स, पटका, भुइचम्पा लगायतका आतिसवाजीजन्य पदार्थहरु नियन्त्रणमा लिएको हो । बरामद भएका सामाग्रीको मुल्य करिब एक करोड पर्ने प्रहरीको अनुमान छ । अवैध सामाग्रीहरुसहित पर्साको सखुवा पर्सौनी गाउँपालिका–१ घर भएर हाल कपन बस्ने ४० वर्षीय नवराज शर्मा भनिने छविलाल अगस्ती समेत पक्राउ परेका छन् ।

 

अगस्ती ती सामाग्री अवैधरुपमा भन्सार छलेर ल्याएको भन्ने सूचनाका आधारमा उनीसहित सामाग्रीहरु बरामद गरिएको कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । बरामद सामाग्रीहरु भने राजस्व अनुसन्धान विभागमा पठाइएको छ भने अगस्तीलाई जिल्ला प्रहरी परिसर टेकु लगिएको छ ।