२०८१ मंसिर १५ , शनिवार

मौद्रिक नीति भोलि शुक्रबार, प्रधानमन्त्रीलाई ब्रिफिङपछि खुल्यो बाटो

सुनाखरी न्युज
काठमाडौं ।

बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक, दिउँसो सार्वजनिक

 

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारी गर्दै छ । त्यसका लागि शुक्रबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दैछ।

बैठकले पास गरेको खण्डमा दिउँसो नै मौद्रिक नीति सार्वजनिक हुने भएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको समेत भूमिकामा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गर्नुभएको छ ।

गत वर्ष ढिलो गरी मौद्रिक नीति आएको थियो। अध्यादेशमार्फत आएको बजेट संशोधनको तयारी भइरहेको भन्दै गत वर्ष मौद्रिक नीति ढिला गरिएको थियो।

यस वर्ष साउन १-२ गते नै मौद्रिक नीति ल्याउने तयारी गरिएको थियो तर एमाले पाटीसँग गभर्नर अधिकारीको नाम जोडिएर विवाद भएपछि केही ढिलो भएको हो ।

कस्तो आउँदैछ माद्रिक नीति ?

गत आर्थिक वर्षको शुरुवातदेखि नै बैंकवित्तमा तरलता अभाव देखियो । जस कारण पछिल्लो ६ महिनायता बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ठप्प छ । व्यापार घाटा र शोधनान्तर घाटाले बढेको छ । विदेशी मुद्रा सञ्चिति घटेको छ भने ब्याजदर र मुल्यवृद्धि बढेको छ । यसरी अर्थतन्त्र संकटोन्मुख रहेका बेला केन्द्रीय बैंक आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति ल्याउने तयारीमा छ ।

 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अर्थतन्त्रको अवस्था धेरै बिग्रिसकेको छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती पनि राष्ट्र बैंकलाई छ ।