सुनाखरी न्युज/काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिनुभएको छ । शुक्रबारदेखि हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो ।
उहाँले राजनीतिक स्थायित्वको विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक रहेको बताउनुभयो । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री देउवाले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने तर्क गर्नुभयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरूरी रहेकाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने पनि बताउनुभयो । नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब २ हजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ । महाधिवेशनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्व हेटौंडामा आएका छन् ।