२०८१ मंसिर ८ , शनिवार

पी.डि, पीपीपी. र सि.एस.आर मा साउथवेस्टर्नकाे सक्रियता

सुनाखरी न्युज/ काठमाडौं । साउथवेस्टर्न स्टेट कलेज बसुन्धाराकाे आयाेजनामा “कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट” अर्थात् “सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन” विषयमा एक दिने तालिम सम्पन्न गरेकाे छ ।

 

कार्यक्रममा बाेल्दै सहायक क्याम्पस प्रमुख हरि सिंह केसीले अबकाे सिकाइ ज्ञानमुखि सीपमुखि, व्यवहारमुखि र अनुसन्धानमुखि हुँदै समाजसँग जाेड्नुपर्ने बताउनुभयो । शिक्षण भनेको सिक्ने र सिकाउने प्रक्रिया भएकाले सिकाइमा समयकाे मागसँगै अपडेट हुन नसकिए आउटडेटेड भइने भन्दै शिक्षित जनशक्तिमा ज्ञानकाे अभाव भन्दापनि कार्यन्वयनमा चुनाैती रहेकाे आ‍ैँल्याउनुभयाे । साउथवेष्टर्न स्टेट कलेजले आषाढ महिनामा मात्रै शिक्षासँग सम्बन्धित अन्तरक्रिया, तालिम, कार्यशाला गाेष्ठि जस्ता तीन दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न गरिसकेकाे जानकारी दिनुहुँदै अबका दिनमा गुणस्तरीय शिक्षाका लागि पेशागत व्यावसायिकता(पी.डि.) सार्वजनिक-निजी साझेदारी (पब्लिक-प्राइभेट पार्टनरसिप ) र संस्थागत सार्वजनिक उत्तरदायित्व (सि.एस.आर) अन्तर्गत साउथवेष्टर्न कलेज निरन्तर सराेकारवाला सबैसँग सहकार्य गर्दै सहभागी हुने विश्वास दिलाउनुभयाे ।

 

कलेजका प्रिन्सिपल डा. राजेन्द्र के.सीले प्रभावकारी शिक्षण सिकाई गतिविधि र शिक्षकको पेशागत व्यावसायिकता वृद्धि गर्नका लागि याे तालिम आयोजना गरिएको जानकारी दिँदै सिकाइलाई स्वतन्त्रता र विद्यार्थीकेन्द्रित बनाउनसके मात्रै उक्त शिक्षाले देशको माटो स्पर्श गर्न सक्ने बताउनुभयो । २१ आ‍ैँ शताब्दीको शिक्षा देश, समाज र विकाससँग जाेडिनुपर्ने भएकाेले विद्यार्थीकाे सिकाई व्यवहारिक र विज्ञानसम्मत दुबै हुनुपर्ने बताउनुभयो । एक सय उनन्तीस जना विद्यार्थी लिएर सुरू भएको कलेजकाे इतिहासलाई स्मरण गर्दै आज पी.जि . देखि पीएचडी सम्म चार हजार भन्दा बढी विद्यार्थी रहेको जानकारी दिनुहुँदै गुणस्तरीय शिक्षाको लागि सिकाइमा रूपान्तरण र कार्यन्वयन प्रक्रिया महत्त्वपूर्ण हुने रहेछ भन्दै आजकाे यस तालिममा पहिलो वर्षको विद्यार्थी संख्या भन्दा शिक्षकको संख्या बढी रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

 

“कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट” तालिमका प्रमुख वक्ता काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका सहायक डीन डा.धनपति सुवेदीले विद्यार्थीहरू विद्यालयमा आईसकेपछि स्वतन्त्रता पूर्वक सिक्न सक्ने वातावरण सुनिश्चित हुनुपर्ने भन्दै शिक्षण सिकाई गतिविधिमा कक्षाकोठा व्यवस्थापन पनि महत्वपूर्ण पाटो रहेको र कक्षाकाेठालाई कसरी सही तरिकाले व्यवस्थापन गर्न सकिन्छ ? भन्ने बारेमा आफ्नाे अनुभव सहित पावरपोइन्ट प्रेजेन्टेसन दिनुभएको थियो ।

 

“सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन” विषयक एक दिने तालिम कार्यक्रममा सहभागी भई कक्षाकोठा व्यवस्थापनको सन्दर्भमा व्यवसायिक सिप हासिल गरेकोमा सहभागी सबैलाई कलेजले प्रमाणपत्रकाे साथ हार्दिक बधाई र सिकाइलाई कक्षाकाेठाकाे कार्यन्वयन तहमा पुर्याउन शुभकामना समेत व्यक्त गरेकाे छ। अन्तमा, पेशागत व्यावसायिकता कार्यक्रम सफल बनाउन साथ, सहयोग र सहभागीता रहेको सम्पुर्णमा साउथवेस्टर्न कलेजले हृदय देखिनै आभार व्यक्त गरेको छ ।आगामि दिनमा पनि यस्तै कार्यक्रम निरन्तर हुने जानकारी सुदर्शन जमकटेल ले दिनु भयो ।