२०८१ मंसिर १५ , शनिवार

सरकारद्धारा सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा

सुनाखरी न्युज/ काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आईतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेकाे ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आईतवार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो । कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए । उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्यजना बनाएको पनि बताए । सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने बताए ।

 

उनले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि बताए । सहसचिव लुइँटेलले कार्ययोजना प्रश्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए । त्यस्तै काठमाडौ उपत्यका लगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ ।

 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने काम गर्ने दाबी गरे । मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताए । उनले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रुपमा मनाएर पर्यटन प्रवर्द्धन पर्यटन क्षेत्रको विकास गर्ने गरीएको भएपनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताए । मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशकै रुपमा मनाउँदा पर्यटन प्रवर्द्धन र विकासको अभियान नै भएको बताए । उनले पर्यटन प्रवर्द्धन र विकासको अभियान निरन्तर रुपमा लगेमात्र सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा हुने जिकिर गरे । मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभइ सरकारको कार्ययोजना भएको बताए । उनले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताए ।

 

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा पनि गरेको छ । त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ । त्यस्तै, प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ ।

 

काठमाडौं उपत्यकाभित्र रात्रीकालिन पर्यटनको प्रारम्भ र प्रवर्द्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ । किलिन नेपाल,ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश,स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई एवं रङ,रोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरेको छ ।