२०८१ मंसिर १० , सोमवार

बन्धक बनाई फिरौती माग गर्ने छ जना पक्राउ

सुनाखरी न्युज/ दाङ । दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका-३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका-७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका-६ हातीखौवा बस्ने २४ वर्षीय जनक कवँर र तुलसीपुर उपमहानगरपालिका-७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् ।

 

प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनु डाईभरलाई तपाईको नम्बर दिन्छु भनि बताएको र केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश-०१-२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुल्न आएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई र घटनामा प्रयोग भएको गाडी सहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।