२०८१ मंसिर ८ , शनिवार

एसइईका विद्यार्थीलाई नेपाल टेलिकमको अफरसहित निःशुल्क सिम

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले एसइईका विद्यार्थीहरूका लागि एसइई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ ।

 

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको टेलिकमले जानकारी दिएको छ। नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि स्टुडेन्ट रजिष्ट्रेशन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट एस्ट्रिक १६०० ह्यासमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्ने टेलिकमले बताएको छ।

 

उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकसमेत उपलब्ध गराइएको छ। यस प्याकमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५ सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने बताइएको छ।

 

विद्यार्थीहरूले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा प्याक उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट एस्ट्रिक१६००ह्यास डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नु पर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रूपमा रजिष्ट्रर गर्दछ र प्याक अनुसारका सुविधाहरू प्राप्त गर्न सकिनेछ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन व्यालेन्सको रूपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् ।

 

त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुने टेलिकमले बताएको छ।