२०८१ मंसिर १० , सोमवार

अवैध मुद्रा कारोबारको आरोपमा समातिए पाँचजना

सुनाखरी न्युज/ काठमाडौं- अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्नताको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सुर्खेतको भेरीगंगा-१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेमा सुर्खेतको सिम्ता-३ आग्रीगाउँका २३ वर्षीय समर विक, दैलेखको भगवतीमाई-४ का १९ वर्षीय मदन विक, जाजरकोटको छेडागाड-५ का २४ वर्षीय निमबहादुर विक, ३३ वर्षीय रत्नबहादुर नेपाली र जाजरकोटकै कुशे-५ का ३२ वर्षीय शान्तबहादुर बादी छन्। सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको साथबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरेको छ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले बुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छालाजस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका पत्थर, बारुदजस्तो देखिने सानो डिब्बा बरामद गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।