२०८१ मंसिर १० , सोमवार

अफ्रिकामा गाईवस्तु चोरले गाउँलेलाई घरमा थुनेर गरे आगजनी, ३२ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं- पूर्वी अफ्रिकी देश माडागास्करमा एक आपराधिक समूहले घरमा आगजनी गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । घटनापछि सेनाले अपराधीहरुको खोजीमा हेलिकप्टर तैनाथ गरेको छ । प्रहरीका अनुसार अपराधीहरूले मानिसहरूलाई तीनवटा झुपडीमा जबरजस्ती थुनेर ती झुपडीमा आगो लगाएका थिए ।

 

यो घटना माडागास्करको राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लाको एम्बोलोटेरेकेली गाउँमा भएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।​ माडागास्करका रक्षामन्त्री जनरल लियोन जीन-रिचर्ड राकोटोनिरिनाले घटना गाईवस्तुको चोरी कार्यमा संलग्नहरुले गराएको जानकारी दिए । अधिकारीलाई जानकारी गराएको भन्दै गाउँलेलाई निशाना बनाइएको हुनसक्ने उनको आशंका छ । उनले दोषी पत्ता लगाई कानुनी कठघरामा ल्याउने बताएका छन्

 

पछिल्ला केही वर्षहरूमा, माडागास्करमा गाईवस्तु चोरहरू र तिनीहरूलाई रोक्न प्रयासहरूका कारण धेरै हिंसात्मक घटनाहरू भएका छन् । घटनास्थलबाट बाहिरिएको भिडियो फुटेजले घरको सानो पर्खालबाहेक घरमा केही नरहेको देखाएको छ ।एजेन्सी