२०८१ मंसिर १० , सोमवार

बुटवलमा निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघदेखि सञ्चालनमा आउने

सुनाखरी न्युज/ काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडा सम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

 

हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुतगर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौष भित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताउनु भएको हो । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिर सहितका संरचनाहरु निर्माण हुनेछन् । “केवलकारको तल्लो स्टेशन सम्म पुग्ने करिब ४०० मीटर पहुँच मार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेशनको सव–इस्टक्चरको निर्माण कार्य करिव सम्पन्नभई सुपर स्टक्चरको कार्य र साईट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिलनिर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ,”उहाँले भन्नुभयो ।

 

साथै, उहाँले माथिल्लो स्टेशनमा सव–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयातगर्ने काम अगाडि बढेको बताउनुभयो । त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिरक्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हालकार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिमकार्य प्रारम्भ गर्न निर्देशनदिइएको बताउनुभएको छ । ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तराष्ट्रिय परामर्शदाताहरु सँग छलफल भइरहेको जानकारी समेत गराउनुभयो ।

 

केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्नुभएको थियो ।