२०८१ आश्विन १४ , सोमवार

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिउँ:मेयर आचार्य

शिशिर पौडेल / पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनु भएको छ ।

 

पोखरा–१६, बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.वि. को हीरक जयन्ती अन्र्तगतको पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रममो उद्घाटन गर्दै प्रमुख आचार्यले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले दक्ष जनशक्ति विदेशीने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसगै प्राविधिक ज्ञान, सिप र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । मेयर आचार्यले विन्ध्यवासिनी मा.वि. नेपालकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएकोमा खुशी व्यक्त गर्दै यसले समग्र पोखरा र गण्डकी प्रदेशकै इज्जत बढाएको भन्दै प्रशंसा गर्नु भयो ।

 

विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्या समाधान गर्न आफू लागि पर्ने भन्दै मेयर आचार्यले सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धितर्फ महानगरले ध्यान केन्द्रित गर्दै थप योजना बनाउने बताउनु भयो । पोखरा – १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयले भोगेका समस्याप्रति आफू जानकार रहेको बताउदै समस्या समाधानका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले सबै पक्षको सहकार्यबाट विद्यालय उत्कृष्ट बन्न पुगेको बताउदै विद्यालयमा प्राविधिक शिक्षा स्थापना, स्कुल बस तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारीको व्यवस्था गरी दिन स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।

 

कार्यक्रममा अक्षयकोषदाता दुर्गा के.सी. थापा, मेहरमान थापा, भीमबहादुर थापा, प्रकाश अधिकारी ÷ रमेश अधिकारी, एस.ई.ई. का सवोत्कृष्ट विद्यार्थी सिन्धु लम्साल, आशिक गौतम, उत्कृष्ट विषयगत शिक्षक खेमराज पौडेल, महेन्द्रप्रसाद पौडेल, महेन्दमणि पौडेल, उत्कृष्ट कक्षा मोनिटर कक्षा ९ क की इन्दु लम्साल, उत्कृष्ट अभिभावक अनबहादुर बि.क., रुपा नेपालीलाई कार्यक्रमका प्रमुख अतिथि मेयर आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, शिक्षा महाशाखा शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, समितिका अध्यक्ष चन्द्रा थापा, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य लगायतले सम्मान गर्नु भयो ।

 

कार्यक्रममा अनिवार्य अवकाश लिनु भएका विद्यालयका सहायक प्रधानाध्यापक जीवनाथ शर्मा पौडेल, शिक्षिका सीता बस्नेत र लेखापाल जीवनारायण श्रेष्ठ ‘जीवन’ लाई सम्मान सहित बिदाइ गरिएको विद्यालयका सूचना अधिकारी रामबहादुर बानियाँले जानकारी दिनु भयो । सो अवसरमा विद्यालयले शैक्षिक सत्र २०७७÷०७८ को शैक्षिक पुरस्कार तथा छात्रवृत्ति समेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले विद्यालयले यस शैक्षिक सत्रमा प्राप्त गरेका उपलब्धि तथा आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखापाल भीमबहादुर गायकले विद्यालयको आर्थिक गतिविधि, सहायक प्रधानाध्यापक भेषराज पौडेलले स्वागत गर्नु कार्यक्रमको सञ्चालन निमावि तह ईन्चार्ज महेन्द्रप्रसाद पौडेलले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नेपाली संस्कृति गीत तथा नृत्य प्रस्तुत समेत गरेका थिए । ७५ वर्ष अघि स्थापना भएको विन्ध्यवासिनी मा.वि. ले हीरक जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिई रहेको छ ।

 

गण्डकी प्रदेशमा एकमात्र उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल विद्यालयले हीरक जयन्तीको समापन तथा नवनिर्मित भवनहरुको उद्घाटन कार्यक्रम निकट भविष्य मै गर्ने गरी तयारी गरेको छ । तस्बिर : अग्नि तिमिल्सिना