२०८१ आश्विन ५ , शनिवार

‘प्रकाश’ फिल्मले राख्यो कविता प्रतियोगिता

 

सुनाखरी न्युज/ काठमाडौं- आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ ।विकट गाउँको एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा ‘प्रकाश’ चलचित्रमा देखाइएको छ ।

 

निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी कविता प्रतियोगिता आयोजना गर्दै पुरस्कारको घोषणा गरेको हो। प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागीहरूले आफ्नो गुरु (शिक्षक)को विशेषता वा महत्वबारे कविता लेख्नुपर्नेछ । प्रतियोगितामा द्वितीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।सहभागिता जनाउनका लागि १२ वर्ष पूरा भई १८ वर्ष ननाघेको हुनु पर्ने निर्माण टिमले जनाएको छ । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।

 

कविता नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सक्ने जनाइएको छ ।सहभागीले कविताको भिडियो बनाएर prakashthefilm@gmail.com मा पठाउनुपर्नेछ ।कविताको लम्बाई १ मिनेटदेखि साढे १ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ । साउन २० गतेदेखि भदौ २० गतेसम्मका लागि प्रतिस्पर्धा समयावधि तोकिएको छ ।