२०८१ आश्विन ६ , आइतवार

मिटर ब्याजी पीडितको धर्ना

सुनाखरी न्युज / काठमाडौँ- नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरुले पुन: माइतीघरमा धर्ना दिएका छन्।

 

यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरुले माइतीघरमा धर्ना दिएका हुन्। सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरुले जनाएका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिको अगुवाईमा भएको धर्नामा सहभागीहरुले भूमिहीन बनाइएका किसान-मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन्।

 

नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुभक मुसहरले यसअघि गृह मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि आफूहरुको समस्या समाधान हुन नसकेको बताए। जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोस्रो पटक धर्ना बस्नुपरेको उनको भनाइ छ। पीडितहरुले भूमिहीन बनाइएका किसानहरुको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याजबाहेकको सबै रकम क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने जनाएका छन्।