२०८१ पुष २७ , शनिवार

ट्राफिक प्रहरीले विशेष चेकिङलाई थप कडाई गर्दै

सुनाखरी न्युज / काठमाडौँ । ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन् । पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ गरी जम्मा २ सय ६३ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा कारबाही गरेको हो ।

 

जसमा मदिरा सेवन गरी सवारी साधन चलाउने ७ जना चालक समेत कार्वाहीमा परेका छन्। जसमध्ये २ जना स्कुल बसका चालक रहेका छन् । हाईड एन्ड सिक मन्टेश्वरी स्कुल सानो भर्याङको प्रदेश ३ ०१ ०२३ च ३३६८ नम्बरको भ्यान चालक बिरेन्द्र तामाङ र फ्लोरोसेन्ट ईङ्लिस हायर सेकेन्डरी स्कुल बानियटारको बा २ क ६५७ नम्बरको बस चालक खिम प्रसाद पुनलाई नियन्त्रणमा लिएको हो । उनिहरुले मदिरा सेवन गरी स्कुलको सवारी साधन चलाएको पाईएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही पश्चात सम्बन्धित स्कुलका प्रधानाध्यापकलाई जिम्मा लगाएको छ । त्यस्तै मदिरा सेवन गरी पानी बोक्ने सवारी साधन चलाउने चालक ३ जना र अन्य सवारी साधन चलाउने २ जना चालक समेत कार्वाहीमा परेका छन् ।

 

नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभएको छ । आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने सवारी चालकलाई कारवाही गरेको हो । काठमाडौँ उपत्यकाको रत्नपार्क, स्वयम्भु, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकोले कारवाही गरीएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

महिला, अशक्त तथा जेष्ठ नागरीक भनी छुट्याइएका आरक्षण सिटको कार्यान्वयन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले विशेष अनुगमन टोलीनै बनाएर काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा चेक गरी कारबाही गर्दै आएको छ ।