२०८१ मंसिर १० , सोमवार

मेयर आफैँले लगाए नगरपालिकामा तालाबन्दी

सुनाखरी न्युज / काठमाडौँ-बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरबाही गरेको भन्दै नगरप्रमुख सुरथ पुरीले अनिश्चितकालीनरूपमा तालाबन्दी गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि कार्यालयको नियमित कार्य प्रभावित हुँदै आएको छ । मन्त्रालयले २०७९ साउन ११ गते सचिवस्तरको निर्णयलाई उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हरिलाल पुरीको सरुवा गरेको भए पनि मन्त्रालयले पुनः २०७९ साउन १५ गते उक्त निर्णय उल्टयाउँदै कार्कीलाई नै प्रमुख प्रशासकीय अधिकृत पदमा बहाली गरेको थियो । कार्कीले कार्यसम्पादनका क्रममा नगरसभाका पदाधिकारीसँग समन्वय नगरेकाले उनलाई पुनः हाजिर नगराउने अडानका साथ तालाबन्दी गरेको नगरप्रमुख पुरीले बताएका छन् ।

 

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई साउन १३ गते कार्यालयमा हाजिर भएका पुरीको स्थानमा पुनः कार्कीलाई मन्त्रालयले बहाली गरेपछि समस्या सिर्जना भएको हो । पुनः सरुवा थमौती भएका कार्की सो नगरपालिकामा दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । प्रमुख प्रशासकीय अधिकृत कार्कीले भने आफू कर्मचारी भएकाले आफूलाई खटाइएको स्थानमा काम गर्ने प्रतिक्रिया दिए । यसबारे मन्त्रालयका प्रवक्ता (सहसचिव) वसन्त अधिकारीले नगरपालिकामा नगरसभाका पदाधिकारीसँग प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको वा कुनै गल्ती काम गरेको भए मन्त्रालयमा लिखित निवेदन दिन सक्ने तर नगरप्रमुखले तालाबन्दी गर्न नमिल्ने बताए । रासस