२०८१ पुष २७ , शनिवार

महिलाको नाममा जग्गा पास गर्ने बढ्दै

सुनाखरी न्युज /काठमाडौ- राज्यले पुरुषहरूलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद बिक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८÷७९ को तथ्यांक अध्ययन गर्दा सो देखिएको हो । एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा रु ५१ करोड ४२ लाख एक हजार ५१३ राजस्व छुट दिइएको छ । अघिल्लो आवमा सात हजार ६१ वटा लिखत पास गर्ने महिलालाई रु ३९ करोड २१ लाख आठ हजार ४२६ राजस्व छुट दिइएको थियो । अघिल्लो वर्षका तुलनामा गत वर्ष राजस्व छुट बढेको छ । कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरूलाई रु १० लाख २२ हजार १७७, सहिद परिवारलाई ११ हजार ६५० र पतिपत्नीको संयुक्त नाममा लिखद पास गर्ने पाँचलाई रु २३ हजार ४४२ राजस्व दिइएको छ ।

 

परिचयपत्रको आधारमा अपांग, महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजस्वमा छुट दिने गरेको उनको भनाइ छ । यस कार्यालयबाट झापाको माईपूर्वका १० वटा स्थानीय तहको जग्गा किनबेचको पास हुने गरेको छ । कार्यालयले गत आव २०७८÷७९ मा रु ८३ करोड २८ लाख नौ हजार ८३१ राजस्व संकलन गरेको छ । कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट रु २३ करोड ४१ लाख ७३ हजार २३५, अग्रीम कर रु १० करोड ८४ लाख चार हजार ७८, डोर शीर्षक वापत रु चार लाख २५ हजार राजस्व उठाएको हो । कार्यालयले एक वर्षको अवधिमा ५१ हजार १९६ लिखत दर्ताबाट सो संख्या बराबरको राजस्व संकलन गरेको हो ।

 

मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, हल्दीवारी, बाह्रदशी, झापा, अर्जुनधारा, कनकाई र बुद्धशान्तिसहितका १० वटा स्थानीय तहका जग्गाको किनबेचलगायत सम्पूर्ण कारोबार गर्ने यस कार्यालयले सबैभन्दा बढी विर्तामोड नगरपालिकाबाट रु २० करोड ४५ लाख ५९ हजार ४९५ र सबै भन्दा कम झापा गाँउपालिकाबाट रु.७३ लाख ३३ हजार ७३४ राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । रासस