सुनाखरी न्युज /काठमाडौ- प्रत्येक वर्ष अगस्टको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताह को रुपमा मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनले प्रस्तुत गरेका केही तथ्यहरुमा बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध प्रत्येक ५ जनामा ३ जनाले मात्रै गरेका छन्।
यदि आमाको दूध कम्तिमा पनि जन्मेदेखि २ वर्षसम्म प्रयोग गरेमा मात्रै पनि संसार भरिमा लगभग वर्षमा ८२०००० जना बच्चाहरुको ज्यान जोगाउन सकिन्थ्यो। त्यस्तै एडीएचएस २०१६ ले निकालेको तथ्यांक अनुसार २ वर्ष मुनिका करिब ५५ प्रतिशत बालबालिकाले पहिलो एक घन्टामै स्तनपान गरेका हुन्छन भने करिब ६६ प्रतिशत बच्चाहरुले ६ महिनासम्म आमाको दूध मात्रै प्रयोग गरेका छन्। त्यसैगरी प्रत्येक १० जनामा ३ जना शिशुलाई जन्मिनै बित्तिकै बिगौती दूध नखुवाएर गलत परम्पराको नाममा मह, घिउ वा चिनी आदि चटाउने पाईएको छ। जुन चाहिँ शिशुलाई फाइदा भन्दा बढी बेफाइदा गराउँदछ।
त्यसैगरी छोरीलाई ५ महिना र छोरालाई ६ महिनापछि अन्नप्रासन गर्ने पुरानो चलन पनि सुनिदै र देखिदै आएको छ। जसमा कुनै वैज्ञानिक कारण देखिँदैन। अनि ६ महिना नपुग्दै लिटो खुवाउने बच्चाहरु पनि थुप्रै बिरामी बनाएर अभिभावकहरु ओपिडी आउनु हुन्छ। जुन चाहि एकदम गलत व्यबहार हो।त्यसैले पनि स्तनपान सम्बन्धी जनचेतना बढाउनु अनिबार्य देखिन्छ। र यो वर्ष सन २०२२ को स्लोगन पनि स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौ भन्ने रहेको छ।
बच्चाहरुको लागि आमाको दूधको महत्व:
• आमाको दूध बालबालिकाको लागि अमृत समान हो। आमाको दूध शिशुको लागि पहिलो खोप हो र यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छ।
• बालबालिकालाई आवश्यक पर्ने प्रयाप्त पानी तथा खनिज तत्वहरु हुन्छन्।
• सधैं सफा र सुरक्षित हुन्छ।
• झाडा पखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरुविरुद्ध लड्ने प्रतीरोधात्मक तत्व हुन्छ।
• सधैं तयारी अवस्था र उपयुक्त तापक्रममा हुन्छ।
• बालबालिकाले सजिलै पचाउन सक्छन्।
• एलर्जीविरुद्ध रक्षा गर्छ।
• दाँत र गिजाको विकास गर्न सहयोग गर्छ भने अनुहारको मांशपेशिको विकास गर्न सहयोग गर्छ।
• आमासँग स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक,शारीरिक तथा सामाजिक विकास गर्न सहयोग गर्छ।
आमाको लागि महत्व:
• बच्चा जन्मनेबित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्किन्छ र पाठेघरबाट बढी रगत बग्ने समस्या पनि कम हुन्छ।
• आमाको धेरै दूध आउन पनि सहयोग गर्छ र दूध गानिनबाट रोकथाम हुन्छ।
• महिलाहरुमा हुने स्तन र पाठेघरको क्यान्सरको खतरालाई कम गर्दछ।
• बच्चा जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको (९८%) को काम गर्दछ।
स्तनपान नगराउदा बच्चालाई हुने जोखिम:
• मृत्यु हुने जोखिम बढी हुन्छ।
• बिरामी भईराख्ने गर्दछन।
• शारीरिक तथा मानसिक विकासमा कमी आउँछ।
• बच्चाले असुरक्षित महसुस गर्दछन्।
• दाँत सम्बन्धी समस्याहरु देखा पर्दछ।
• पछि गएर मुटु रोग,मधुमेह ,क्यान्सर, दम जस्ता रोगहरुको जोखिम उच्च हुन्छ।
आमालाई हुन सक्ने जोखिम:
• आमालाई रक्त्तअल्पता हुने जोखिम बढछ।
• आमा छिट्टै गर्भवती हुन सक्छिन।
• शिशुसँग नजिकपनमा पनि कमी आउँछ।
• सुत्केरी अवस्थामा उत्पन्न हुने मानसिक उदासिनता हुने जोखिम बढ्छ।
• स्तनपान नगराउने आमाहरुमा पाठेघर र स्तन कोक्यान्सर हुने सम्भावना बढी हुन्छ।