२०८१ मंसिर ४ , मंगलबार

दल दर्ता गर्ने आज अन्तिम दिन

सुनाखरी न्युज /काठमाडौं ।निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि आज मंगलबार सकिँदैछ ।

 

आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार मंगलबार दल दर्ताको अन्तिम दिन हो । निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले मंगलबार कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने आयोगले जनाएको छ । मंगलबार नै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ ।

 

मंगलबार नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका द्वय अध्यक्ष पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ । आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो । दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।

 

दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति र दलको केन्द्रीयस्तर र केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या र संगठनात्मक स्वरुप पनि खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।