२०८१ पुष २६ , शुक्रवार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

सुनाखरी न्युज /काठमाडौं । भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ ।

 

यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैया ७६ पैसा र डिजेल १६ रुपैया ५६ पैसा घटेर आएको थियो । लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन । नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।

 

समग्रमा अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पारेसनलाई निमगले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ ।