सुनाखरी न्युज /काठमाडौं । फोहोर ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने हाम्रो उद्देश्य होइन । फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्र्दभमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् ।
यो हाम्रो प्रतिवद्धता हो । प्रतिवद्धतामा हामी इमान्दार, सचेत र संवेदशनशील छौँ ।’गएको जेठ २६ गते काठमाडौँ महानगरपालिका, धुनिवेँसी नगरपालिका र ककनी गाउँपालिकाविच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले, तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक बर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्नुभएको छ ।
प्रहरी प्रशासनको सहयोग लिएर हिजो १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै उनीहरुले सडकमा अवरोध गर्दै आएका छन् । आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानी तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालका अनुसार स्थानीयहरु डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।
नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।